कोशी प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता इटहरीमा हुने

सुनसरी, ०१ असार । कोशीमा प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता आयोजना हुन लागेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन तथा कोशी प्रदेश पौडी संघको आयोजनामा आगामी असार १४ र १५ गते इटहरीस्थित ओसियन पार्क एन्ड रिसोर्ट प्रालिको सेमी ओलम्पिक स्विमिङ पुलमा कोशी प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश पौडी संघका पदाधिकारीहरूले प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका पौडी खेलाडीहरूको सहभागिता रहने जानकारी दिएका छन् ।
प्रदेशस्तरमा तेस्रो पटक आयोजना हुन लागेको यस प्रतियोगितामा महिला तथा पुरुषतर्फ गरी करिब १८० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न उमेर समूह र विधा समेटेर कुल २१ वटा इभेन्ट सञ्चालन गरिनेछ । प्रतियोगिता ‘पोइन्ट सिस्टम’का आधारमा सञ्चालन गरिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई समग्र विजेताको उपाधि प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
साथै, प्रत्येक इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने खेलाडी तथा टिम व्यवस्थापकहरूको सुविधाका लागि आयोजकले दुईतर्फी यातायात खर्च, खेल पोसाक, खानपान तथा आवासको व्यवस्था गरेको जनाएको छ ।
नेपाल पौडी संघको सहयोगमा प्रतियोगिताका उत्कृष्ट तथा उर्जाशील खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित विशेष सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बर बहादुर तामाङले प्रतियोगिताले प्रदेशमा पौडी खेलको विकास, विस्तार र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले प्रदेशभर रहेका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
अध्यक्ष तामाङले विद्यालय तहदेखि समुदायस्तरसम्म पौडी खेलको पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने धारणा राखे ।
उनले कोशी प्रदेशलाई पौडी खेलको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य रहेको बताउँदै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आवश्यक प्रशिक्षण तथा अवसर उपलब्ध गराइने जानकारी दिए ।
‘कोशी प्रदेशलाई पौडी खेलको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आवश्यक प्रशिक्षण र अवसर उपलब्ध गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रदेशको गौरव बढाउने दिशामा हामी अघि बढिरहेका छौं,’अध्यक्ष तामाङले भने ।
कार्यक्रम संयोजक तथा कोशी प्रदेश पौडी संघका उपाध्यक्ष रमेश कुमार तामाङले प्रतियोगिताले प्रदेशका खेलाडीहरूको प्रतिभा प्रस्फुटन हुनुका साथै पौडी खेलको थप प्रवर्द्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा संघका पदाधिकारी, खेलकर्मी, प्रशिक्षक, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । आयोजकले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।


