इटहरीमा चैत ३० देखि अन्तर्राष्ट्रिय गोल्डकप, विजेतालाई १० लाख पुरस्कार

सुनसरी, २५ चैत । सुनसरीको इटहरीमा आगामी चैत ३० गतेदेखि ‘१६औँ अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा हुने प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा नेपालसहित भारत र नाइजेरियाका गरी ८ फुटबल क्लबको सहभागिता रहनेछ ।
सहभागी टोलीमा मछिन्द्र फुटबल क्लब, मोरङ–११, झापा–११ फुटबल क्लब, सातदोबाटो फुटबल क्लब लगायतका चर्चित नेपाली टोलीहरू रहेका छन् भने भारत र नाइजेरियाबाट पनि एक–एक टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिनेछ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही २०–२० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
वि.सं. २०२३ मा स्थापना भएको आयोजक क्लबले इटहरीलाई फुटबलको उर्वरभूमि बनाउने लक्ष्य लिएको जनाएको छ । क्लबले ८ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरी ‘ग्रासरुट’ फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
क्लबका अध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिताले युवालाई दुर्व्यसनबाट टाढा राख्दै खेलकुदतर्फ आकर्षित गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन र सामाजिक चेतना फैलाउने उद्देश्य बोकेको छ ।
यसअघि क्लबले दानबहादुर फुयाल गोल्डकप र मदन भण्डारी मेमोरियल गोल्डकपजस्ता प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


