रौतहट, २७ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट जिल्लामा अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा १ सय २८ जनाको जमानत जफत भएको छ ।

चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका कुल १ सय ४२ जनामध्ये मात्र १४ जना उम्मेदवारले जमानत जोगाउन सफल भएका हुन् ।

निर्वाचन कानुनअनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ । यही प्रावधानअनुसार धेरैजसो उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा ३९ जना उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा २६ उम्मेदवारमध्ये २३ जनाले जमानत जोगाउन सकेनन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा ४० उम्मेदवारमध्ये ३७ जना र निर्वाचन क्षेत्र नम्बर ४ मा ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए ।

जिल्लामा रहेका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेकोमा २ लाख ९२ हजार ५ सय २९ मत खसेको थियो । मतगणना परिणामअनुसार तीमध्ये २२ हजार ९ सय ९३ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दासले बताए ।

निर्वाचनमा ठूलो सङ्ख्यामा उम्मेदवार भए पनि सीमित उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गरी जमानत जोगाउन सफल भएका छन् ।