एक व्यक्तिले एकपटकभन्दा बढी मतदान गरे २५ हजारसम्म जरिवाना

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले एक व्यक्तिले एकपटकभन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुने स्पष्ट पारेको छ ।
आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
आगामी २१ फागुनमा हुने मतदानका क्रममा एउटै व्यक्तिले दोहोरो मतदान गर्न नपाउने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।
यस्तो कार्य कानुनविपरीत हुने भन्दै आयोगले निगरानी संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा आचारसंहिता अनुगमन अधिकृतहरूलाई प्रचारप्रसार निषेध अवधिमा हुने सम्भावित उल्लंघन रोक्न विशेष सतर्कता अपनाउन निर्देशन दिइएको उल्लेख छ ।
मौन अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, जुलुस लगायतका गतिविधि गर्न पाइँदैन ।
आयोगका अनुसार कुनै पनि माध्यम—सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा अन्य प्लेटफर्ममार्फत दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने व्यवस्था छ । सञ्चार संस्थाहरूलाई पनि निष्पक्षता कायम गर्न आग्रह गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना अपरिहार्य रहेको आयोगको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

