काठमाडौं, १८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै प्रेस काउन्सिल नेपालले मौन अवधि (स्थिर समय) मा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सञ्चारमाध्यम र सरोकारवालालाई अपिल गरेको छ ।

काउन्सिलले फागुन १८ गते राति १२:०० बजेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने स्पष्ट गर्दै त्यसपछि मौन अवधि लागू हुने जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ (१) (क) अनुसार मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण, अन्तर्वार्ता, प्रश्नोत्तरजस्ता सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था रहेको काउन्सिलले स्मरण गराएको छ ।

काउन्सिलका अनुसार मौन अवधि सुरु हुनुअघि सम्पन्न भएका राजनीतिक कार्यक्रमका समाचार, तस्बिर, चुनाव चिह्न अंकित झण्डा/ब्यानर तथा श्रव्यदृश्य सामग्रीसमेत प्रकाशन वा प्रसारण गर्दा आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले त्यसतर्फ विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले चेतावनी दिएको छ ।

साथै, निर्वाचन अवधिमा देखिएका उल्लङ्घनका घटनालाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण तथा लोककल्याणकारी विज्ञापन भुक्तानी सिफारिसका आधारका रूपमा अभिलेखीकरण गरिने पनि जनाइएको छ ।

काउन्सिलले निष्पक्ष, स्वच्छ र मर्यादित पत्रकारिताका लागि मौन अवधिमा थप संवेदनशील र जिम्मेवार बन्न सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।