काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको जनाएको छ ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको दाबी गर्दै छिटो र व्यवस्थित मतगणनामा जोड दिइएको बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत २७५ सदस्यीय सदनका लागि मतदान हुँदैछ । जसमध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक प्रणालीमार्फत चयन गरिने व्यवस्था छ ।

आयुक्त भण्डारीले मतदातालाई स्वच्छ र सचेत ढंगले मतदानमा सहभागी हुन आग्रह गर्दै मतदान प्रक्रिया सम्पन्न भएसँगै मतपेटिका संकलन, सुरक्षित ढुवानी र शीघ्र मतगणना गरी नतिजा प्रकाशन गरिने जानकारी दिए ।

‘मतदान सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ,’ उनले भने ।

निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय निर्धारण गरेको थियो ।

निर्धारित समय सोमबार राति १२ बजेबाट समाप्त हुँदैछ र त्यससँगै मौन अवधि लागू हुनेछ । मौन अवधि मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ ।

आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ ।

‘सबैले अनुशासन कायम गर्दै मौन अवधिलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्छ,’ आयुक्त भण्डारीको भनाइ छ ।