सिरहा, १८ फागुन । सिरहाको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार दुर्घटनामा धनगढीमाई नगरपालिका–८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरू सवार रहेको स.५ प. ४७५९ नम्बरको मोटरसाइकल गोलबजारबाट पूर्वतर्फ जाँदै थियो ।

धरानबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख १०८५ नम्बरको यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किँदा तीनै जना गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुधन केसीका अनुसार घाइतेहरूलाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा लगिएको भए पनि महतो र रायलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी स्थानीय १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकहरूको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।