महोत्तरी, १८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले फागुन १८ गते राति १२ बजेदेखि लागू हुने गरी चुनावी प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन २१ गते बिहान ७:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म मतदान कार्य हुने भएकाले सो अवधिसम्मका लागि कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार गर्ने उद्देश्यले सभा, जुलुस, नाराबाजी तथा अन्य कुनै किसिमका प्रचारात्मक गतिविधि गर्न नपाइने उल्लेख गरिएको छ ।

सूचनामा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ उपदफा (५) बमोजिम प्रचार–प्रसार निषेध गरिएको स्पष्ट पारिएको छ ।

प्रशासनले प्रतिबन्धको उल्लंघन गरेमा कानूनअनुसार अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने चेतावनीसमेत दिएको छ ।

प्रशासनिक अधिकृत कामेश्वर यादवद्वारा हस्ताक्षरित सूचनामार्फत निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै सरोकारवालालाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ ।