रौतहट, १८ फागुन । जिल्ला प्रशासन कार्यालय रौतहटले यस वर्षको फागू पूर्णिमा (होली) पर्व शान्तिपूर्ण, मर्यादित तथा अनुशासित ढंगले मनाउन सबैसँग आग्रह गरेको छ ।

होली पर्व यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिभित्र परेको जनाउँदै प्रशासनले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा होली पर्व सामाजिक सद्भाव, सहिष्णुता र भाइचाराको प्रतीक भएको उल्लेख गर्दै विगतका वर्षहरूमा पर्वका नाममा अनावश्यक तडक–भडक, होहल्ला तथा भड्किला कार्यक्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

सूचनामा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ अनुसार धार्मिक तथा सांस्कृतिक पर्वहरू मर्यादित रूपमा मनाउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै सार्वजनिक स्थानमा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने, कसैको इच्छा विपरीत रंग दल्ने वा पानीको लोला हान्ने जस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ ।

त्यसैगरी, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

आचारसंहिता अनुसार निर्वाचन चिन्ह वा उम्मेदवारको तस्वीर अंकित भेष्ट, टि–सर्ट, टोपी, गम्छा लगायतका सामग्री प्रयोग गर्न निषेध गरिएको जनाइएको छ ।

प्रशासनले होली पर्व घरपरिवार, आफन्त तथा साथीसँग आफ्नै घर कम्पाउण्डभित्र सीमित राखी मनाउन अनुरोध गरेको छ ।

खुला सडक तथा सार्वजनिक स्थानमा भीडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने, डिजे तथा ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोग गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री–वितरण गर्ने कार्य नगर्न निर्देशन दिइएको छ ।

निर्वाचनको मौन अवधिमा कुनै पनि अमर्यादित, उच्छृङ्खल वा गैरकानूनी गतिविधि गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।

रौतहट प्रशासनले सबै नागरिकलाई आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी पर्वलाई सभ्य, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा मनाउन आह्वान गरेको छ ।