जनकपुरधाम, १८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सोमबार राति १२ बजेदेखि लागू हुने मौन अवधिमा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रचारप्रसार गतिविधि बन्द हुने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्देशिकाअनुसार मौन अवधिमा राजनीतिक दल, उम्मेदवार तथा तिनका समर्थकले कुनै पनि प्रकारका प्रचारात्मक गतिविधि गर्न पाउने छैनन् ।

आयोगका अनुसार प्रचारप्रसार, सभा–सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशाला लगायतका कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ । कुनै पनि बहानामा मत माग्ने, समर्थन जुटाउने वा मतदातालाई प्रभावित पार्ने उद्देश्यका गतिविधि सञ्चालन गर्न पाइँदैन ।

साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा माध्यम वा अन्य कुनै पनि सञ्चार माध्यम प्रयोग गरी उम्मेदवार वा दलको पक्ष–विपक्षमा सन्देश प्रवाह गर्न नहुने स्पष्ट पारिएको छ ।

मौन अवधिमा फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालमार्फत प्रचार सामग्री पोस्ट वा सेयर गर्न रोक लगाइएको छ ।

दल तथा उम्मेदवारहरूले यसअघि बुस्ट/प्रायोजित गरेका विज्ञापनहरू समेत हटाउनु पर्नेछ । निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा सम्बन्धित उम्मेदवार वा दलमाथि कानुनी कारबाही हुने आयोगले जनाएको छ ।

मौन अवधिभर बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोज–भतेर आयोजना गर्ने, जुलुस निकाल्ने, हुलहुज्जत वा होहल्ला गर्ने जस्ता गतिविधि गर्न पाइँदैन ।

मतदातालाई प्रलोभनमा पार्ने वा प्रभावित पार्ने आशयका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नहुने प्रावधान छ । स्थानीय प्रशासन र सुरक्षा निकायलाई कडाइका साथ अनुगमन गर्न निर्देशन दिइएको छ ।

मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा मतदातालाई बाधा पुग्ने गतिविधि गर्न कडाइका साथ रोक लगाइएको छ ।

मतदान केन्द्र रहेको घर, भवन वा स्थान वरिपरि शान्ति भंग गर्ने, भय–त्रास सिर्जना गर्ने वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गरेमा तुरुन्तै कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।

त्यसैगरी, मतदान हुने दिनभन्दा ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाइसक्नुपर्नेछ । भित्ते लेखन, ब्यानर, पोस्टर, फ्लेक्स, झण्डा लगायतका सामग्री यथाशीघ्र हटाउन आयोगले निर्देशन दिएको छ ।

आयोगले मौन अवधिको उद्देश्य मतदातालाई शान्त वातावरणमा स्वतन्त्र निर्णय लिन सहयोग पुर्‍याउनु रहेको जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुने तालिका छ ।

यस अवधिमा सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

आयोगका अधिकारीहरूका अनुसार मौन अवधिको उल्लंघन भएमा जरिवाना, उम्मेदवारी रद्द वा अन्य कानुनी कारबाहीसम्म हुन सक्ने व्यवस्था छ ।

त्यसैले सबै सरोकारवाला पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल गरिएको छ ।