शान्तिपूर्ण र विश्वसनीय मतदानका लागि सूक्ष्म व्यवस्थापन योजना लागू

जनकपुरधाम, १७ फागुन । आगामी निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन मतदान अधिकृतले फागुन १७ गतेदेखि २१ गतेसम्मका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेका छन् ।
मतदान केन्द्रको भौतिक पूर्वाधारदेखि सर्वपक्षीय समन्वय, कर्मचारी परिचालन र मतदान प्रक्रिया व्यवस्थापनसम्मका कामलाई चरणबद्ध रूपमा अघि बढाइने जनाइएको छ ।
कार्यतालिकाअनुसार पहिलो चरणमा मतदान अधिकृतले मतदानस्थलको प्रत्यक्ष अवलोकन गर्ने, केन्द्रको संरचना तथा चारै दिशाको अवस्थाको आँकलन गर्ने कार्यक्रम तय गरिएको छ
सोही दिन स्थानीय तहसँग समन्वय गरी सर्वपक्षीय सम्पर्क र सहयोग जुटाइनेछ । मतदानस्थलमा बसोबासको अवस्था, आवतजावतको सहजता तथा सुरक्षा व्यवस्थाबारे जानकारी संकलन गरिने जनाइएको छ ।
फागुन १८ गतेसम्म सर्वपक्षीय भेलाको समय निर्धारण गरिनेछ भने १९ गतेभित्र भेला सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्ने, अनुसूची ३ अनुसार मतदानस्थलको चारै दिशामा सूचना टाँस गर्ने, साथै अनुसूची ४, ५, ६ र ७ सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरिनेछ ।
मतदानस्थलमा गासबासको प्रबन्ध मिलाउने, आवश्यक भौतिक पूर्वाधार तयार पार्ने र व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारीसमेत सोही दिन गरिने जनाइएको छ ।
फागुन १९ गते सर्वपक्षीय बैठक आयोजना गरी निर्णयहरूको माइन्यूट तयार गरिनेछ । साथै स्वयंसेवक नियुक्ति, कर्मचारीको भूमिका निर्धारण तथा कार्य विभाजन गरिने कार्यक्रम छ ।
मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई नाम रूजू गर्ने, तथ्यांक फाराम भर्ने, औंलामा चिनो लगाउने, प्रतिनिधिसभा (पहुनिहु) र समानुपातिकतर्फका मतपत्र वितरण गर्ने जिम्मेवारी छुट्याइनेछ । कर्मचारी र सुरक्षाकर्मीलाई अभिमुखीकरणसमेत गरिने जनाइएको छ ।
यसै दिन मतदान केन्द्र निर्माणका लागि आवश्यक सामग्री संकलन तथा परिचयपत्र वितरणको व्यवस्था मिलाइनेछ ।
फागुन २० गतेसम्म मतदान केन्द्र निर्माण कार्य सम्पन्न गरिनेछ । मतदान प्रतिनिधि नियुक्ति गरी परिचयपत्र वितरण (अनुसूची १० अनुसार) गरिनेछ ।
दुई प्रकारका मतपेटिका (एक प्रतिनिधिसभातर्फ र दुई समानुपातिकतर्फ) तयार गरी पोलबुकमा अभिलेख राखिनेछ ।
मतदानको दिन फागुन २१ गते बिहान ६ बजेदेखि ६:५० बजेसम्म सबै कर्मचारीलाई जिम्मेवारीअनुसार स्थान ग्रहण गराइनेछ ।
मतदान प्रतिनिधिको रोहवरमा मतपेटिका रित्तो भएको देखाई यकिन गरिनेछ र त्यसपछि विर्को लगाई शीलबन्द गरिनेछ ।
शील नम्बर पोलबुकमा टिपोट गरिनेछ र अनुसूची ११ अनुसार मुचुल्का उठाइनेछ ।
स्वस्तिक छाप जाँच गरी अनुसूची १३ अनुसार मुचुल्का तयार गरिनेछ । मतपत्रको शीलबन्दी प्याकेट खोली अनुसूची १४ अनुसार प्रक्रिया पूरा गरिने जनाइएको छ ।
बिहान ठिक ७ बजे मतपत्रमा दस्तखत गरी मतदान प्रक्रिया सुरु गरिनेछ ।
मतदानको क्रममा लाइनबाट एक–एक जना मतदाता पठाइने, नाम रूजू गरिने, तथ्यांक फाराममा रेजा लगाइने, औंलामा चिनो लगाइने र त्यसपछि मतपत्र प्रदान गरिने व्यवस्था मिलाइनेछ ।
एक पटकमा कक्षभित्र एकजना मात्र मतदाता प्रवेश गर्ने सुनिश्चित गरिनेछ । प्रतिनिधिसभा र समानुपातिक दुवै मतपत्र छुट्टाछुट्टै खसाएको सुनिश्चित गरिनेछ ।
मतदान सकेपछि मतदाता बाहिरिएको यकिन गर्ने जिम्मेवारी पनि कर्मचारीलाई दिइएको छ । सम्पूर्ण प्रक्रिया अविच्छिन्न र निष्पक्ष रूपमा सञ्चालन गर्न मतदान अधिकृतले नेतृत्व गर्ने जनाइएको छ ।
मतदान सम्पन्न भएपछि मतपेटिकाको प्वाल बन्द गरी अनुसूची २४ अनुसार मुचुल्का तयार गरिनेछ । त्यसपछि मतपत्र फाँटवारी (अनुसूची २५) र खाद (अनुसूची २६) तयार गरिनेछ ।
निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने सम्पूर्ण कागजातहरू खुला खाममा राखी बुझाइनेछ । यसमा सबै मुचुल्का, तथ्यांक फाराम, पोलबुक, परिचयपत्र तथा बुझाएको फाराम दुई–दुई प्रति समावेश गरिनेछ ।
निर्वाचन प्रक्रिया पारदर्शी, विश्वसनीय र कानुनी दायराभित्र सम्पन्न गराउन मतदान अधिकृतको यो विस्तृत चेकलिष्टलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सर्वपक्षीय सहयोग अपरिहार्य रहेको अधिकृतहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

