मध्यपूर्व तनावप्रति निधिको चिन्ता, नेपालीको सुरक्षित उद्धारका लागि सरकारसँग पहलको माग

जनकपुरधाम, १७ फागुन । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको संकटपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।
निधिले पछिल्लो समय मध्यपूर्वका विभिन्न देशहरूमा बढ्दो तनावका कारण नेपाली कामदार तथा अन्य नागरिकको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको उल्लेख गर्दै सतर्कता अपनाउन अपिल गरेका हुन् ।
उनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, भीडभाड तथा असुरक्षित स्थानबाट टाढा रहन तथा सम्भावित आपतकालीन अवस्थाका लागि नजिकका सुरक्षित आश्रयस्थलको जानकारी राख्न सुझाव दिएका छन् ।
‘आधिकारिक स्रोतबाट आउने सूचनामा मात्र विश्वास गर्नुहोस् र अफवाहबाट टाढा रहनुहोस्,’ निधिले भनेका छन् ।
उनले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावास तथा नियोगहरूसँग नियमित सम्पर्कमा रहन र आवश्यक परे दूतावासको हेल्पलाइन प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।
यसैबीच, उनले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई मध्यपूर्वस्थित नेपालीहरूको अवस्था निरन्तर अनुगमन गर्न, आवश्यक समन्वय संयन्त्र सक्रिय बनाउन तथा आपतकालीन उद्धार योजना तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।
‘नेपालीहरूको जीवनरक्षा राज्यको पहिलो दायित्व हो,’ उनले उल्लेख गरेका छन् ।
निधिले सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास र नियोगहरूलाई तथ्यपरक विवरण संकलन गरी केन्द्र सरकारलाई नियमित प्रतिवेदन पठाउन, जोखिममा परेका नेपालीलाई आवश्यक परामर्श, सुरक्षित स्थानान्तरण तथा आवश्यकता अनुसार स्वदेश फिर्तीको व्यवस्था मिलाउन अविलम्ब कदम चाल्नुपर्ने बताएका छन् ।
संवेदनशील परिस्थितिमा सबै नेपालीबीच एकता, संयम र जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको उल्लेख गर्दै निधिले कठिन घडीमा राज्य र नागरिकबीचको सहकार्यले मात्र समस्या समाधान सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

