जनकपुरधाम, १६ फागुन । मिथिलाको मौलिक लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषद्को आयोजनामा जनकपुरधाममा दुई दिवसीय होरी महोत्सव तथा महामूर्ख सम्मेलन सुरु भएको छ ।

महोत्सवको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्ण, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलगायतले संयुक्त रूपमा डम्फु बजाएर गरेका हुन् ।

उद्घाटनसँगै जनकपुरधाममा होरैयाको रङ्ग, संगीत र सांस्कृतिक उत्साहले माहोल तताएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कर्णले मिथिला नाट्य कला परिषद्ले विगत तीन दशकदेखि मिथिलाको लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा निरन्तर भूमिका खेल्दै आएको उल्लेख गरे ।

‘गाउँघरमा होरैया टिम लोप हुँदै गइरहेको अवस्थामा यस्ता महोत्सवले संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,’ उनले भने ।

त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख साहले होरी महोत्सव तथा महामूर्ख सम्मेलनले हराउँदै गएको होरैया परम्परालाई पुनर्जीवित गर्न सशक्त माध्यमको काम गरेको बताए ।

उनले स्थानीय सरकार सांस्कृतिक पहिचान जोगाउने अभियानमा सधैं सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

परिषद्का अध्यक्ष सुनिल मल्लिकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा महासचिव विष्णुकान्त मिश्र, निवर्तमान अध्यक्ष परमेश झालगायतका वक्ताहरूले मिथिलाको मौलिक सांस्कृतिक सम्पदा जोगाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखे ।

महोत्सवअन्तर्गत रघुनाथपुर, कटैया, भोयल, बलहागोठ महिला होरैया समूह, वेला तथा सिग्हासनीका होरैया समूहको प्रस्तुति रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय समूहलाई विभिन्न सामग्री, शिल्ड, कप तथा पदक प्रदान गरिने महासचिव मिश्रले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका तथा जानकी मन्दिरको सह–आयोजनामा सुरु भएको यस महोत्सवको दोस्रो दिन आइतबार जनकपुरधाममा महामूर्ख सम्मेलन आयोजना गरिनेछ ।

सम्मेलनमा परम्पराअनुसार ‘महामूर्ख’ सहित विभिन्न हास्य–व्यंग्यात्मक मानपदवी प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

मिथिलाको मौलिक सांस्कृतिक परम्परालाई जीवन्त राख्ने लक्ष्यसहित आयोजित यस महोत्सवले स्थानीयस्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।