निर्वाचन शान्तिपूर्ण बनाउन धनुषा प्रहरीको आग्रह

जनकपुरधाम, १६ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, मर्यादित तथा सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।
प्रहरी कार्यालयले जारी गरेको अनुरोधमा निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पर्व भएकाले यसलाई सभ्य र अनुशासित रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, मतदाता, स्थानीय तह, सामाजिक संस्था, विद्यालय तथा सञ्चारमाध्यमको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार मतदान केन्द्र वरपर अनावश्यक भीडभाड, हो–हल्ला, झै–झगडा वा अवाञ्छित गतिविधि नगर्न विशेष आग्रह गरिएको छ ।
मतदातालाई डर, त्रास, धाकधम्की दिने, प्रभावमा पार्ने वा प्रलोभन दिने जस्ता गतिविधि कानुनविपरीत हुने भएकाले त्यस्ता कार्यमा संलग्न नहुन चेतावनी दिइएको छ ।
त्यसैगरी, मादक पदार्थको किनबेच, ओसारपसार तथा सेवन नगर्न, सामाजिक सञ्जालमार्फत अफवाह तथा भ्रामक सूचना प्रवाह नगर्न, घृणास्पद अभिव्यक्ति नदिन तथा दुष्प्रचार नगर्न पनि प्रहरीको अनुरोध छ ।
निर्वाचनको समयमा कुनै पनि किसिमको हातहतियार साथमा नलिन समेत निर्देशन दिइएको छ ।
मतदान स्थलभित्र मोबाइल फोन, क्यामेरा, विभिन्न विद्युतिय उपकरण, प्रज्वलनशील पदार्थ, रंग/मसी, नशालु तथा तरल पदार्थ, तथा राजनीतिक दलका चुनाव चिन्ह अंकित झण्डा, टोपी, टिसर्ट, झोला जस्ता निषेधित सामग्री लैजान नपाइने प्रहरीले स्पष्ट पारेको छ ।
भुईँचम्पा, आतिसबाजी, स्पिकर वा डीजे जस्ता बाजा बजाउने कार्यसमेत निषेध गरिएको छ ।
प्रहरीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार नागरिकको भूमिकामा प्रस्तुत हुन सबैलाई आग्रह गरेको छ ।
‘आचारसंहिताको पालना गरौं, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरौं’ भन्ने मूल नारासहित सामुदायिक–प्रहरी साझेदारीमार्फत सुरक्षित समाज निर्माणमा सहयोग गर्न अपिल गरिएको छ ।
कुनै पनि शंकास्पद गतिविधि देखिएमा वा समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ ।
आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोल नम्बर १००, ९८५४०९०४१९ तथा प्रहरी संचार नम्बर ९८५४०२६०९० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

