जनकपुरधाम, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा तीन दिनका लागि बन्द गरिने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने मतदानलाई ध्यानमा राखी फागुन १९ गतेदेखि २१ गतेसम्म भंगहा–जनकपुर–जयनगर खण्डमा रेल सेवा पूर्ण रूपमा स्थगित गरिनेछ ।

कम्पनीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय धनुषाले पनि रेल सेवा बन्द गर्न कम्पनीलाई औपचारिक पत्राचार गरेको छ ।

कार्यालयले मतदानको दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन प्रक्रियालाई सुरक्षित बनाउन जयनगर–जनकपुर–बर्दिबास खण्डको रेल सेवा ७२ घण्टा अगावै बन्द गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

रेल सेवा बन्दका कारण यात्रुहरूलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै फागुन २२ गतेदेखि साविक बमोजिम नियमित सेवा पुनः सञ्चालन हुने जानकारी दिएको छ ।

सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायहरूलाई समेत जानकारी गराइएको प्रशासनले जनाएको छ ।