सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरण : मुख्य योजनाकारसहित तीन पक्राउ, जागिर पाउन हत्या गरेको खुलासा

सर्लाही, १५ फागुन । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा मुख्य योजनाकारसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धानबाट जागिर प्राप्त गर्ने उद्देश्यले योजनाबद्ध रूपमा हत्या गरिएको खुलासा गरेको छ ।
जिल्ला प्रहरीका अनुसार फागुन ३ गते बेलुका करिब ७ः५५ बजे मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सब–इन्जिनियर प्रमोद कुमार यादवलाई फोन गरी बाहिर बोलाएर गोली प्रहार गरिएको थियो ।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
सूक्ष्म अनुसन्धानपछि हत्या योजना खुल्यो
प्रहरीले घटनापछि प्रविधि, इन्टेलिजेन्स र प्राविधिक विश्लेषण प्रयोग गर्दै मृतकका परिवार, साथी तथा चिनजानका व्यक्तिसँग सोधपुछ गरेको थियो ।
पोस्टमार्टम रिपोर्टमा छातीमा लागेको गोलीका कारण मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

अनुसन्धान क्रममा महोत्तरी घर भई सर्लाही बरहथवामा बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो मुख्य योजनाकार रहेको खुलेको छ ।
उनी सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए ।
प्रहरीका अनुसार महतो प्रदेश लोक सेवा आयोग मधेश प्रदेशबाट सब–इन्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार थिए भने मृतक यादव नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवार थिए ।
नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए आफूलाई स्थायी जागिर मिल्ने बुझेर उनले हत्या योजना बनाएको प्रारम्भिक निष्कर्ष छ ।
आफन्त र भाइलाई प्रयोग गरी हत्या
प्रहरीका अनुसार गणेश महतोले आफन्त पर्ने चन्द्र किशोर सिंह कुशवाहासँग मिलेर हत्या योजना बनाएका थिए ।
योजनाअनुसार उनले मृतकलाई ‘राकेश यादव’ नाम प्रयोग गरी फोन सम्पर्कमा राखेका थिए । घटनाको दिन पनि व्हाट्सएप कल गरी डेराबाट बाहिर बोलाएर आफ्नै साथमा ल्याएको पेस्तोलबाट गोली प्रहार गरिएको थियो ।
गोली प्रहारपछि अभियुक्तहरू मोटरसाइकलमा भागेका थिए । पछि प्रयोग गरिएको मोटरसाइकल रौतहट गढीमाई क्षेत्रमा बागमती नदीको बाँध नजिक वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले हतियार खरिदका लागि गणेश महतोले आफ्ना भाइ विजय कुमार महतोलाई दशैंअघि नै ८० हजार रुपैयाँ दिएको र सोही हतियार घटनामा प्रयोग भएको पाइएको जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले गणेश कुमार महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो लाई फरक–फरक स्थानबाट पक्राउ गरेको छ ।
उनीहरूको बयानका आधारमा घटनामा प्रयोग भएको पेस्तोल, गोलीको खोका, भारतीय नम्बर प्लेट भएको मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन मन्दिरभित्र बालकले भेटाएको पेस्तोल पनि यही घटनासँग सम्बन्धित भएको आशंका गरिएको छ भने फरेन्सिक परीक्षणपछि पुष्टि हुने बताइएको छ ।
फोन सम्पर्कबाट बाहिर बोलाएर गोली
प्रहरी अनुसन्धान अनुसार गणेश महतो र चन्द्र किशोर सिंह कुशवाहा मोटरसाइकलमा बरहथवाबाट घटनास्थल पुगेका थिए ।
पूर्वयोजना अनुसार मृतकलाई फोन गरी बाहिर बोलाइएपछि गोली प्रहार गरिएको थियो । गोली लागेपछि यादव डेराको बरन्डामा लडेको अवस्थामा भेटिएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको र घाइतेलाई अस्पताल पुर्याइएको थियो ।
कर्तव्य ज्यान र हातहतियार कसूरमा मुद्दा
प्रहरीले पक्राउ परेका आरोपितहरूविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान मार्ने नियतले अपराध गरे जन्मकैद सजाय हुने व्यवस्था छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरे सात वर्षसम्म कैद र जरिवानाको प्रावधान रहेको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

