धनुषामा मतदान अवधिभर सवारी सञ्चालनमा कडाइ, अत्यावश्यकबाहेक सबै साधनमा रोक

जनकपुरधाम, १५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाले मतदान अवधिभर सवारी साधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ ।
कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन २० गते बुधबार राति १२:०० बजेदेखि २१ गते बिहीबार मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर अत्यावश्यक सेवाबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइनेछ ।
प्रशासनका अनुसार एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, दूध तथा खानेपानी बोक्ने ट्याङ्कर, शववाहन, अस्पताल सेवा, विद्युत सेवा तथा आधिकारिक रूपमा अनुमति प्राप्त सवारी साधनलाई भने सञ्चालनमा सहुलियत दिइनेछ ।
तीबाहेक निजी तथा सार्वजनिक सवारी साधन पूर्ण रूपमा निषेध गरिने जनाइएको छ ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालद्वारा जारी गरिएको हो । प्रशासनले निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई तोकिएको समयावधिमा सवारी साधन प्रयोग नगर्न र निर्वाचन प्रक्रियामा सहयोग पुर्याउन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

