सिरहा, १५ फागुन । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधामा टिपरमा करेन्ट लाग्दा एक चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ४० वर्षीय सन्तोष साहको घटनास्थल नजिकै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहले चलाउँदै आएको टिपर सफा गर्ने क्रममा पछिल्लो भाग उठाएर टोलमा जम्मा भएको पानी बगाउन खोज्दा माथि रहेको ११ हजार भोल्टको विद्युत् तारमा टिपरको भाग ठोक्किएको थियो । सो क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुधन केसीका अनुसार हाइड्रोलिकमार्फत टिपरको पछाडिको भाग उठाउँदा विद्युत् तारमा छोइएपछि करेन्ट लागेको हो ।

करेन्ट लागेपछि गाडीको केही भागमा सामान्य आगलागीसमेत भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेपछि साह गाडीबाट झरेर अचेत अवस्थामा पुगेका थिए । स्थानीयले तत्काल उपचारका लागि अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।