धनुषामा युवकको शव फेला, घाँटी रेटी हत्या गरिएको आशंका

जनकपुरधाम, १४ फागुन । धनुषाको औरही गाउँपालिकामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको औरही गाउँपालिका–६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक हंसपुर नगरपालिका–९ रुदौलीका करिब २० वर्षीय सुमित मण्डल रहेको धनुषा प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार बिहीबार अपराह्न करिब ४ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।
परिवारजनका अनुसार मण्डल बुधबार साँझ मोटरसाइकल लिएर घरबाट निस्केका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनलाई बिहीबार खेतमा मृत अवस्थामा भेटिएको हो ।
घटनाको प्रकृति हेर्दा बुधबार राति नै हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

