जनकपुरधाम, १४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभर मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म धनुषाका सबै स्थानमा मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरिएको छ ।

निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न तथा सामाजिक सद्भाव जोगाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

सूचनामा निषेधाज्ञा उल्लंघन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

प्रशासनले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।

साथै सुरक्षा निकायमार्फत मदिरा बिक्री–वितरण तथा सेवनमा कडाइका साथ अनुगमन गरिने बताइएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल नेपाललाई समेत आवश्यक समन्वय र कार्यान्वयनका लागि जानकारी गराइएको प्रशासनले जनाएको छ ।