जनकपुरधाम, ११ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२, मिथिला माध्यमिक परिक्रमा, होली/फागु पर्व तथा मुस्लिम धर्मावलम्बीहरुको रोजा (रमजान) एकै समय परेकाले सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

प्रशासनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउँदै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई आह्वान गरेको हो ।

प्रशासनका अनुसार चाडपर्व मनाउँदा मर्यादित र अनुशासित ढंग अपनाउनुपर्ने तथा चुनावी गतिविधि गर्दा आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।

आमसभा, कोणसभा जस्ता भिडभाड हुने कार्यक्रम आयोजना गर्नुअघि प्रशासनबाट अनिवार्य अनुमति लिनुपर्ने निर्णय गरिएको छ ।

होली पर्वका नाममा कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, फोहर छ्याप्ने, पानी खन्याउने वा उच्छृंखल व्यवहार गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई दुःख दिने गतिविधि भए कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

होली मुख्यतः आफ्नै घर कम्पाउण्डभित्र सांस्कृतिक रुपमा मनाउन प्रशासनले सुझाव दिएको छ ।

निर्वाचनको मौन अवधि सुरु भएसँगै मदिराको ओसारपसार, बिक्री वितरण तथा सार्वजनिक सेवनमा रोक लगाउने निर्णय गरिएको छ ।

चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम प्रयोग गर्दा ध्वनि प्रदूषण र सामाजिक समस्या बढेको भन्दै जिल्लाभर त्यस्ता उपकरण सञ्चालनमा रोक लगाइएको छ ।

राति १० बजेपछि कुनै पनि लाउडस्पीकर प्रयोग गर्न नपाइने प्रशासनको निर्णयमा उल्लेख छ ।

त्यस्तै, होलीको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउन नपाइने, मोटरसाइकलमा दुई जनाभन्दा बढी सवार हुन नहुने र बिना हेल्मेट सवारी चलाएमा ट्राफिक प्रहरीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने जनाएको छ ।

निर्वाचनको दिनभन्दा ७२ घण्टा अगावै नेपाल–भारत सीमा सिल गरिने भएकाले मिथिला माध्यमिक परिक्रमामा सहभागी भारतीय तीर्थयात्री तथा पदयात्रीहरुलाई सो अवधिअघि स्वदेश फर्कन अनुरोध गरिएको छ ।

चाडपर्वको समयमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न उद्योग वाणिज्य संघ तथा सम्बन्धित संस्थालाई नियमित आपूर्ति सुनिश्चित गर्न प्रशासनले आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थ बोतलमा बिक्री गर्न रोक लगाउने तथा विवाह, होली वा अन्य समारोहका नाममा पटाका, भुईँचम्पा लगायत कुनै पनि विस्फोटक सामग्री प्रयोग पूर्ण रुपमा निषेध गरिएको छ ।

प्रशासनले निर्णय कार्यान्वयनका लागि बजार र सार्वजनिक स्थलमा सूचना प्रसार गर्ने तथा उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ ।