जनकपुरधाम, ११ फागुन । कानु हलुवाई समाजका केन्द्रीय अध्यक्ष राजकुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

पछिल्लो समय धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपातर्फ नेता तथा कार्यकर्ताको प्रवेश क्रम बढिरहेकै बेला साह पनि पार्टीमा आबद्ध भएका हुन् ।

सोमबार आयोजित एक कार्यक्रममा रास्वपाका केन्द्रीय प्रवक्ता तथा धनुषा–३ का उम्मेदवार मनिष झाले साहलाई पार्टीमा स्वागत गरेका थिए ।

स्वागतका क्रममा झाले परिवर्तनमुखी राजनीतिक यात्रामा साथ दिन साहको प्रवेश महत्वपूर्ण हुने बताए ।

पार्टी प्रवेशपछि साहले देश र क्षेत्रको राजनीतिक संस्कार परिवर्तन गर्ने अभियानमा सहभागी हुन आफू रास्वपामा आएको बताए ।

उनले धनुषा–३ मा विकास, सुशासन र पारदर्शिताको माग बढ्दै गएको उल्लेख गर्दै परिवर्तनको पक्षमा जनमत बलियो बन्दै गएको दाबी गरे ।

साह यसअघि वामपन्थी राजनीतिक धारसँग निकट रहँदै नेकपामा सक्रिय नेताका रूपमा काम गर्दै आएका थिए ।

स्थानीय स्तरमा सामाजिक तथा पेशागत संगठनमार्फत सक्रिय भूमिका खेलेका उनी अब रास्वपामार्फत निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने तयारीमा रहेको बताइएको छ ।

धनुषा–३ मा विभिन्न दलका नेता तथा कार्यकर्ताको दल परिवर्तन र नयाँ पार्टी प्रवेशको क्रम बढ्दै जाँदा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

रास्वपाले निरन्तर पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गरिरहेको जनाएको छ ।