जनकपुरधाम, ११ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को चुनावी माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले घरदैलो अभियानसँगै पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाएका छन् ।

उम्मेदवार झाले जनकपुरधामका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरिरहेका छन् ।

सोमबार जनकपुरधाम–५ र ७ लगायतका क्षेत्रमा पुगेका झाले स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया गर्दै विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याए ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार सुधारलाई मुख्य कार्यसूची बनाएको उल्लेख गरे ।

उम्मेदवार झाले परम्परागत राजनीतिक शैलीले जनताको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै नयाँ सोच र व्यवहारिक योजनामार्फत परिवर्तन ल्याउने दाबी गरे ।

युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि र साना व्यवसायलाई प्रवर्द्धन गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत पहल गरिने उनको भनाइ थियो ।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले खानेपानी अभाव, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन तथा स्वास्थ्य सेवामा सहज पहुँचको समस्या उठाएका थिए । झाले ती विषयलाई योजनाबद्ध ढंगले सम्बोधन गर्ने आश्वासन दिए ।

यसैबीच, सोमबार जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नीम चोकमा पार्टी प्रवेश कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न दल परित्याग गरी करिब डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरे ।

नवप्रवेशीहरुलाई उम्मेदवार झाले पार्टीमा स्वागत गर्दै क्षेत्रको विकास र सुशासनका लागि साझा प्रयास आवश्यक रहेको बताएका थिए ।

धनुषा–३ मा प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा बढ्दै जाँदा रास्वपाले घरदैलो र संगठन विस्तारलाई केन्द्रमा राख्दै चुनावी अभियानलाई आक्रामक बनाएको देखिएको छ ।