जनकपुरधाम, ११ फागुन । नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का मतदाताले पुनः आफूलाई विश्वास गर्ने दाबी गरेकी छन् ।

महतोले अघिल्लो निर्वाचनमा सुरु गरेका विकास योजनालाई निरन्तरता दिन मतदाताले फेरि अवसर दिने विश्वास व्यक्त गरिन् ।

सोमबार जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा घरदैलो अभियानमा पुगेकी महतोलाई स्थानीयले स्वागत गरेका थिए ।

सो क्रममा उनले अघिल्लो निर्वाचनमा मतदाताले दिएको जिम्मेवारीअनुसार काम अघि बढाइएको भए पनि कार्यकाल पूरा हुनुअघि नै पुनः निर्वाचनमा जानु परेको बताइन् ।

अधुरा योजनाहरू आफूले नै पूरा गर्ने विश्वास मतदातामा रहेको उनको भनाइ छ ।

महतोले विकासका लागि ल्याइएका योजनाहरू कार्यान्वयनकै क्रममा राजनीतिक परिस्थितिका कारण निर्वाचनमा होमिनु परेको उल्लेख गर्दै निरन्तरता दिन मतदाताले समर्थन गर्ने अपेक्षा राखिन् ।

उनले नयाँ दलहरूले बिना नीति र स्पष्ट भिजन पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप पनि लगाइन् ।

संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको सवालमा एमाले निरन्तर संघर्षरत रहेको बताउँदै महतोले मधेशको पूर्वाधार विकासमा एमाले नेतृत्वका सरकारहरूको भूमिका महत्वपूर्ण रहेको दाबी गरिन् ।

उनले रेल सेवा सुधार, सुनकोशी–मरिन–कमला डाइभर्सनजस्ता बहुप्रतिक्षित योजनाहरू अघि बढाइएको स्मरण गराइन् ।

रेल सेवाको स्तरोन्नतिका सन्दर्भमा उनले नेपाल रेल्वे कम्पनीमार्फत पूर्वाधार सुधार र सेवा विस्तारको काम भइरहेको बताइन् । साथै जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनासमेत अघि बढाइएको उनको भनाइ थियो ।

महतोले यी उपलब्धि र योजनाबारे मतदाता जानकार रहेकाले आगामी निर्वाचनमा पुनः एमाले नेतृत्वकै सरकारको चाहना देखिएको दाबी गरिन् ।

घरदैलो अभियानलाई निरन्तरता दिँदै उनले स्थानीय सरोकारका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान अगाडि बढाइरहेको बताइन् ।