वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

पर्सा, ११ फागुन । पर्साको वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्यू सोमबार साँझ ४:३० बजेबाट हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेश अनुसार समग्र सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएको र सर्वपक्षीय बैठकमा भएको निर्णयलाई आधार बनाएर कर्फ्यूको निरन्तरता आवश्यक नरहेको ठहर गरिएको हो ।
तर, हालैको परिस्थिति पूर्ण रुपमा सामान्य नभएको भन्दै वीरगञ्जका मुख्य चौक र सडकहरूमा सोमबार बेलुकी ६:०० बजेदेखि मंगलबार बिहान ८:०० बजेसम्म कुनै प्रकारको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ ।
यो निर्णय स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको हो ।
निषेधाज्ञा लागु हुने क्षेत्रहरूमा बाईपास रोडदेखि रानीघाट पुल, पावरहाउस चौक र घण्टाघर चौक सम्मका मुख्य मार्गहरू पर्दछन् ।
प्रशासनले आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘व्यवसायीक र सिर्जनशील प्रशासनको लक्ष्य विकास, समृद्धि र सुशासन कायम राख्नु हो । स्थानीय स्तरमा शान्ति सुरक्षाको अवस्था निरन्तर अनुगमन गरिँदैछ ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


