रौतहट, ८ फागुन । रौतहटको गौर नगरपालिकास्थित पावर हाउस नजिक शुक्रबार एक यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने ठक्करका कारण बिजुलीको पोल ढलेको छ ।

बसमा सवार अधिकांश यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ भने केही यात्रुले सामान्य चोटपटक व्यहोरेका छन् ।

घटना लगत्तै स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली उद्धार तथा व्यवस्थापनमा खटिएको थियो ।

बसमाथि बिजुलीको तार खस्ने जोखिम देखिएपछि थप क्षति हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा थप अनुसन्धान जारी रहेको बताइएको छ ।