रौतहट, २२ माघ । रौतहटको इशनाथ नगरपालिकामा उम्मेदवारको स्टिकर टाँसिएको गाडीको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाटोमा खेलिरहेका बेला बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय सागिर मोहम्मदकी छोरी अल्फा खातुन गम्भीर घाइते भएकी थिइन् । घाइते अवस्थामै उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार उक्त गाडीमा रास्वपाका उम्मेदवारको स्टिकर टाँसिएको थियो । तर, दुर्घटनाका बेला उम्मेदवार भने गाडीमा सवार थिएनन् ।

दुर्घटनापछि प्रहरीले ठक्कर दिने गाडी नियन्त्रणमा लिएको छ भने चालकको खोजी कार्य तीव्र बनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।