प्रतिनिधिसभा निर्वाचनमा मधेशबाट ५८ जेनजी युवा उम्मेदवार

जनकपुरधाम, १३ माघ । जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगको तथ्यांकअनुसार तीमध्ये दुई जना महिला र ५६ जना पुरुष रहेका छन् ।
आयोगका अनुसार जेनजी पुस्ताका उम्मेदवारमध्ये ४१ जना स्वतन्त्रतर्फबाट र १७ जना विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका हुन् । युवाको बढ्दो राजनीतिक सक्रियताले यसपटकको निर्वाचनलाई थप रोचक बनाउने विश्वास गरिएको छ ।
दलगत रूपमा हेर्दा उज्यालो नेपाल पार्टी र जनमत पार्टीले समान तीन–तीन जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन् । श्रम संस्कृति पार्टीले दुई जना युवा उम्मेदवार उठाएको छ ।
यसैगरी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा, आम जनता पार्टी (एकल चुनाव चिन्ह), जन अधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी तथा नेपालका लागि नेपाली पार्टीले एक–एक जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन् ।
उज्यालो नेपाल पार्टीले सिरहा क्षेत्र नम्बर- ३ बाट २६ वर्षीय श्रवण पासवान, महोत्तरी–१ बाट २८ वर्षीय मनोज कुमार गुप्ता र रौतहट–२ बाट २५ वर्षीय रामाकान्त प्रसाद पटेललाई उम्मेदवार बनाएको छ ।
जनमत पार्टीले महोत्तरी–१ बाट २७ वर्षीय विरेन्द्र महतो, रौतहट–२ बाट २८ वर्षीय सोनु कुशवाहा र रौतहट–४ बाट २८ वर्षीय रामकल्याण राउतलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीले सिरहा–४ बाट २६ वर्षीय पंकज कुमार ठाकुर र पर्सा–१ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले सर्लाही–४ बाट पूर्व सांसद शिवपुजन यादवका छोरा २७ वर्षीय अमनिश कुमार यादवलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व सांसद अमरेश सिंहलगायतका प्रभावशाली उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सिरहा–१ बाट पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका २८ वर्षीय बब्लु गुप्तालाई उम्मेदवार बनाएको छ । नेकपाले बारा–४ बाट २७ वर्षीय अजय कुशवाहालाई उम्मेदवार बनाएको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी–२ बाट २७ वर्षीय अजय कुमार दास र नेपाल मजदुर किसान पार्टीले सोही क्षेत्रबाट निलम कुमारी यादवलाई उम्मेदवार बनाएको छ ।
यसपटकको निर्वाचनमा जेनजी पुस्ताको उल्लेखनीय सहभागिताले मधेश प्रदेशको राजनीतिक नेतृत्वमा पुस्तान्तरणको संकेत दिएको विश्लेषकहरू बताउँछन् । युवाको उपस्थितिले पुराना राजनीतिक अभ्यासमा परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

