जनकपुरधाम, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेशकी संस्थापक सभापति ममता शर्माले उम्मेदवार चयन प्रक्रियामा नेतृत्वबाट आफूलाई अन्याय भएको गुनासो गरेकी छन् ।

समानुपातिक तर्फको उम्मेदवार छनोटमा तेस्रो स्थानमा मत ल्याए पनि पछि मधेसी महिलातर्फ सातौं स्थानमा राखिएपछि आफूलाई सूचीबाट बाहिर पारिएको शर्माको भनाइ छ ।

प्रारम्भिक मतदानअनुसार नाम नपरेपछि उनले समानुपातिकतर्फबाट नाम फिर्ता लिने निवेदनसमेत दिएको बताइन् ।

बारा–२ क्षेत्रकी स्थानीय भएको उल्लेख गर्दै उनले सोही क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बन्न पार्टी नेतृत्वलाई जानकारी गराएको बताइन् ।

प्रत्यक्षमा उठ्ने प्रस्ताव गर्दा नेताहरू सकारात्मक देखिए पनि अन्ततः अर्कै व्यक्तिलाई टिकट दिइएको उनले आरोप लगाइन् ।

उनका अनुसार बारा–२ बाट जसपा नेपालबाट आएका चन्दनकुमार सिंहलाई रास्वपाले उम्मेदवार बनाएको छ । आफू कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार रहँदा पनि पार्टीले अवसर नदिएको शर्माको गुनासो छ ।

अन्य दलभन्दा फरक देखिने दाबी गरेको रास्वपाले उम्मेदवार छनोटमै पुरानै अभ्यास दोहोर्‍याएको उनले बताइन् । ‘९० प्रतिशतभन्दा बढी पुराना व्यक्तिलाई टिकट दिइएको छ। पुरानालाई नयाँ कपडा लगाएर नयाँ हुँदैन,’ शर्माले भनिन् ।

हाल महिला विभागको केन्द्रीय सदस्य रहेकी शर्माले केन्द्रीय राजनीतिमा ल्याउने आश्वासन पाए पनि व्यवहारमा कार्यान्वयन नभएको बताइन् ।

२०७९ सालको निर्वाचनमा आफ्नै पहलमा मधेशका ३२ मध्ये २५ क्षेत्रमा उम्मेदवार उठाउन सफल भएको दाबीसमेत गरिन् ।

त्यस बेला आफू उमेर नपुगेका कारण उम्मेदवार बन्न नसके पनि पार्टी विस्तार र प्रचारमा सक्रिय भूमिका खेलेको उनले बताइन् ।

मधेशमा समानुपातिकतर्फ बाराबाट रास्वपालाई सबैभन्दा बढी मत आएको र त्यसकै आधारमा मनिष झा र लक्ष्मी तिवारी सांसद बनेको शर्माको भनाइ छ ।

उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता र निष्पक्षता नदेखिएको भन्दै शर्माले पार्टीको उद्देश्य र भविष्यप्रति प्रश्न उठाएको बताएकी छन् ।