बसहियास्थित गोगल प्रसाद नमुना माविमा नवनिर्मित भवन उद्घाटन

जनकपुरधाम, २६ पुष । जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियास्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा आज एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत निर्माण गरिएको दुई कोठे विद्यालय भवन उद्घाटन गरिएको हो ।
नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको विकासले विद्यार्थीको सिकाइ वातावरणलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।
उनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि भवन, कक्षाकोठा, शौचालय, खानेपानीजस्ता आधारभूत संरचनाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन् ।
कार्यक्रममा बोल्दै उनले मधेश प्रदेश सरकार शिक्षालाई प्राथमिकतामा राखेर विद्यालय पूर्वाधार सुदृढीकरणमा निरन्तर लगानी गरिरहेको बताइन् ।
‘विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा पढाइ प्रभावित हुने अवस्था रहँदै आएको थियो । यो नयाँ भवन निर्माणसँगै त्यस समस्यामा केही हदसम्म समाधान हुने विश्वास गरिएको छ,’ उनले भनिन् ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले नयाँ भवन निर्माणले विद्यार्थीको चाप व्यवस्थापन गर्न, पठनपाठनलाई व्यवस्थित बनाउन तथा शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन् ।
उनीहरूले प्रदेश सरकार र शिक्षा तथा संस्कृति मन्त्रालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको विश्वाससमेत व्यक्त गरिन् ।
स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, चुनौती र सम्भावनाबारे पनि छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षामा पहुँच, गुणस्तर र समानताको सुनिश्चितताका लागि यस्ता पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
मधेश प्रदेश सरकारको पहलमा ग्रामीण तथा अर्धशहरी क्षेत्रका विद्यालयहरूमा भौतिक पूर्वाधार विस्तार हुँदै गएको र यसले दीर्घकालीन रूपमा शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।









तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


