जनकपुरधाम, १ पुष । जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्साको व्यवस्थापनका नाममा लागू गरेको नयाँ निर्णयविरुद्ध ई–रिक्सा चालकहरू आन्दोलित भएका छन् । मंगलबार चालकहरूले उपमहानगरपालिकाको मुख्यद्वार घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उपमहानगरपालिकाले परिक्रमा सडक तथा सो क्षेत्रभित्र उपमहानगरमा दर्ता भएका ई–रिक्सा बाहेक अन्य रिक्साहरू सञ्चालन गर्न नपाइने निर्णय गरेपछि चालकहरू आन्दोलित भएका हुन् ।

उक्त निर्णयपछि बाहिरी पालिकामा दर्ता भएका वा दर्ता नै नभएका ई–रिक्सा चालकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । उपमहानगरपालिकाका अनुसार जनकपुरधाममा ई–रिक्साको अव्यवस्थित सञ्चालनका कारण ट्राफिक व्यवस्थापन अत्यन्तै जटिल बन्दै गएको छ ।

साँघुरा सडक, अत्यधिक सवारी चाप र अनियन्त्रित ई–रिक्साका कारण दैनिक रूपमा जाम र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नगरपालिकाले परिक्रमा सडकभित्र दर्ता भएका सवारी साधनलाई मात्र सञ्चालन गर्न दिने नीति अपनाएको जनाएको छ ।

उपमहानगरपालिकाले नियम उल्लङ्घन गरी सञ्चालन गरिएका ई–रिक्सामाथि जरिवाना गरिने समेत स्पष्ट पारेको छ। यसले गर्दा ई–रिक्सा सञ्चालनमा कडाइ हुने र शहरको ट्राफिक व्यवस्था सुधार हुने उपमहानगरको दाबी छ ।

तर, ई–रिक्सा चालकहरूले उपमहानगरपालिकाको निर्णयले आफ्नो जीविकोपार्जनमै गम्भीर असर परेको बताएका छन् । चालकहरूका अनुसार वैकल्पिक व्यवस्था, समयसीमा वा समन्वय नगरी अचानक लागू गरिएको निर्णय अन्यायपूर्ण छ । ‘हामी यही पेशाबाट परिवार पालिरहेका छौं, एकाएक रोक लगाउँदा हामी के गर्ने?’ भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे ।

विरोध प्रदर्शनका क्रममा चालकहरूले निर्णय तत्काल फिर्ता लिन, दर्ता प्रक्रिया सहज बनाउन तथा सबै पक्षसँग छलफल गरी समाधान निकाल्न माग गरेका छन् । उनीहरूले वार्ता र सहमतिमार्फत समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने बताएका छन् ।

प्रदर्शनकारी चालकहरूले उपमहानगरपालिकाले आफ्नो माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

यो पनि पढनुहोस्

जनकपुरधाममा दर्ता नभएका टेम्पु र ई–रिक्सामाथि कडाइ, परिक्रमा र भित्री सडकमा पूर्ण प्रवेश निषेध