३१ किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही, २८ मंसिर । सर्लाहीको बरहथवा नगरपालिका–१२ स्थित हरिवनबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान करिब पौने ६ बजे इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको रातो–कालो पल्सर मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंका लागि रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट ३१ केजी ५९० ग्राम गाँजा बरामद भएको हो ।
मोटरसाइकलको बिचमा प्लाष्टिकको बोरामा लुकाएर ल्याइएको उक्त गाँजा प्रहरीले फेला पारेको हो ।
बरामद सामग्रीमा रातो प्लाष्टिकले बेरिएको ६ पोकामा गाँजा, एक थान मोटरसाइकल, तीन थान मोबाइल, ७१,५७५ रुपैयाँ, ९ हजार ७ सय भारु एटीएम कार्ड र खैरो रङको छालाको खाली ब्याग रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१४ ठुलो घुम्ने टोलका २९ वर्षका कान्छा राम स्याङतान र सोही वडाको सानो घुम्ने टोलका २५ वर्षीय मान बहादुर ठोकर रहेका छन् ।
दुवै पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपिएको छ भने इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

