महोत्तरी, १४ कार्तिक । सडकमा बसोबास गर्ने असहाय बालबालिका, परित्यक्त वृद्धवृद्धा र मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूका लागि बर्दिबासमा निर्माण भइरहेको ‘हाम्रो मायाको घर’ अब अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भएको निर्माण समिति अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए ।

बर्दिबास–२ स्थित हङ्कङडाँडा नजिक निर्माण भइरहेको यो परियोजना मानवता, करुणा र सह–अस्तित्वको भावनामा आधारित सामाजिक सेवा कार्यका रूपमा अघि बढाइएको हो । अध्यक्ष भट्टराईका अनुसार हालसम्म भवन र क्यान्टिन गरी दुईवटा संरचना लगभग तयार भइसकेका छन् । ‘अब अन्तिम चरणका केही काम मात्र बाँकी छन्,’ उनले भने, ‘निर्माण पूरा गर्न अझ करिब एक करोड रुपैयाँ आवश्यक छ ।’

‘हाम्रो मायाको घर’ निर्माणका लागि बर्दिबासका १५ जना स्थानीय दाताहरूले करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको साढे पाँच कठ्ठा जग्गा दान गरेका थिए । त्यसपछि भागवत मञ्जरी राधिका दासीको प्रेरणामा आयोजना गरिएको महायज्ञबाट करिब १ करोड ८२ लाख ४२ हजार संकलन भएको थियो । यस्तै, विभिन्न संघसंस्था र स्थानीय निकायले पनि सहयोग जुटाएपछि भवन निर्माणको कार्य तीव्र रूपमा अघि बढाइएको हो ।

अध्यक्ष भट्टराईका अनुसार हालसम्म भवन निर्माण र थप जग्गा खरिदमा १ करोड १८ लाख ९ हजार खर्च भइसकेको छ भने करिब १० लाख मौज्दात रकम रहेको छ । बाँकी ८० लाख रुपैयाँ जति बक्यौता उठ्न बाँकी रहेको उनले जानकारी दिए । ‘केही मौज्दात रकम छ । बाँकी बक्यौता उठेपछि खर्चको अभाव हुने छैन,’ उनले थपे ।

‘हाम्रो मायाको घर’ को शिलान्यास २०८१ साल साउनमा तत्कालीन मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका थिए । केवल एक वर्षको छोटो अवधिमा र सीमित स्रोतमा भएको निर्माण प्रगतिलाई समाजसेवी र जनप्रतिनिधिहरूले उदाहरणीय भनेका छन् ।

प्रदेशसभा सदस्य शारदादेवी थापाले निर्माणाधीन ‘मायाको घर’लाई दान, धर्म, दया र स्नेहको प्रतीक भन्दै यसको निर्माणलाई श्रम, सहयोग, इमान र मितव्ययिताको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरिन् ।

होटल तथा पर्यटन महासंघ मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले ‘हाम्रो मायाको घर’ असहाय र सडकमा परेका व्यक्तिहरूका लागि नयाँ जीवनको प्रतीक बन्ने विश्वास व्यक्त गरे ।

भवन परिसरलाई हरियाली र वातावरणमैत्री बनाउन रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष सीताराम ढुंगेलको सहकार्यमा परिसरमा ३० वटा बिरुवा रोपिएको छ । यसले भवनलाई स्वास्थ्यप्रद र मनोवैज्ञानिक रूपमा सान्त्वना दिने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको समितिको भनाइ छ ।

निर्माणको अन्तिम चरणमा पुगेपछि ‘हाम्रो मायाको घर’ अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निर्माण समिति, स्थानीय समाजसेवी र संघसंस्थाहरूले यसको सञ्चालनका लागि आवश्यक प्रशासनिक तयारी र मानवस्रोत व्यवस्थापनको गृहकार्य सुरु गरेका छन् ।