सिरहा, १४ कार्तिक । लहान नगरपालिका–३ मा अवस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पछिल्ला महिनाहरूमा बिरामीको चाप असाध्यै बढेको छ ।

अस्पतालमा सेवा–सुविधा विस्तार, नियमित निगरानी र दक्ष चिकित्सकहरूको सक्रियतापछि बिरामीहरूमा अस्पतालप्रतिको विश्वास बढेको हो ।

पहिले विराटनगर र धरान जस्ता शहरतर्फ उपचारका लागि जानुपर्ने अवस्था रहेको बिरामीहरू अहिले यहीँ उपचार गराउन थालेका छन् । यसले अस्पतालको साख र विश्वसनीयता दुवै बढाएको अस्पताल प्रशासनको दाबी छ ।

अस्पतालको स्तरोन्नतिपछि हाल दैनिक तीन सयभन्दा बढी बिरामीको जाँच हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी दिए । उनका अनुसार अस्पतालमा आधुनिक ल्याब, डायलोसिस सेवा र विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू उपलब्ध भएपछि सेवा विस्तारमा गुणात्मक सुधार आएको छ ।

पहिले १५ शय्याको रूपमा सञ्चालनमा रहेको अस्पताल अहिले १०० शय्याको क्षमतामा सेवा दिइरहेको छ । बिरामीको संख्या बढ्नु स्वभाविक भए पनि अस्पतालको जग्गा रजिष्ट्रेशनको अभावले पूर्वाधार विकासमा चुनौती सिर्जना गरेको डा. झाले बताए ।

डा. झाका अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि आवश्यक कागजात तयार भइसकेको भए पनि लाभकर मिनाहा नहुँदा प्रक्रिया रोकिएको छ ।

‘अर्थ मन्त्रालयमा मिनाहाको सिफारिस गरिएको छ,’ उनले भने, ‘तर, संघीय तहबाट निर्णय नआएकाले एक वर्षदेखि प्रक्रिया अघि बढ्न सकेको छैन ।’

यो अस्पतालका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारका परिवारले २०३७ सालमा निर्माण गरिदिएका हुन् । उक्त परिवारले अस्पतालका लागि १ बिघा १५ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका जग्गा रजिष्ट्रेशनका लागि तयार भए पनि लाभकर १ करोड ३५ लाख लाग्ने भएपछि संघीय सरकारले कर मिनाहा गर्न ढिलाइ गरिरहेको बताइन्छ ।

मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले संघीय सरकारबाट कर मिनाहाका लागि सिफारिस भए पनि निर्णय नआएकाले अस्पतालको विकासकार्य रोकिएको बताए ।

‘प्रदेश सरकारले मिनाहाको सिफारिस पठाइसकेको छ,’ उनले भने, ‘तर, फाइल संघीय तहमा रोकिएको छ । यो विषयमा सर्वदलीय पहल आवश्यक छ ।’

अस्पतालका दाता परिवारका प्रतिनिधि मुरारीलाल मुरारकाले जग्गा रजिष्ट्रेशनमा ढिलाइ हुँदा थप सहयोग गर्न नसकेको गुनासो गर्दै भने, ‘हामी अझै लगानी गर्न तयार छौं । तर, रजिष्ट्रेशन नभएसम्म अन्य निर्माण कार्य अघि बढाउन सकिँदैन ।’

अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले अस्पतालको विकासका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

उनका अनुसार जग्गा रजिष्ट्रेशन भएपछि जीर्ण भवन पुनर्निर्माण, चिकित्सक आवास भवन, सिटी–स्क्यान सेवा सञ्चालन र नयाँ भवन निर्माणको काम अघि बढाइनेछ ।

लहान प्रादेशिक अस्पतालले हाल सिरहा, सप्तरी र उदयपुर जिल्लाका बिरामीहरूलाई पनि उपचार सेवा दिइरहेको छ । विशेषज्ञ सेवा, नियमित औषधि उपलब्धता र आधुनिक उपकरणहरूको प्रयोगका कारण यो अस्पताल प्रदेशकै भरपर्दो स्वास्थ्य संस्थाका रूपमा उभिँदै गएको छ ।

तर, जग्गा रजिष्ट्रेशनको जटिलता र प्रशासनिक ढिलाइले अस्पतालको दीर्घकालीन विकासमा अवरोध बनेको देखिन्छ । स्थानीयवासी र नागरिक समाजले यसबारे तत्काल पहल गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।