बैंकिङ्ग कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

सप्तरी, १४ कार्तिक । लामो समयदेखि बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार राजविराज नगरपालिका–१४ निवासी ५६ वर्षीय रामकुमार मण्डललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मण्डलविरुद्ध बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा दर्ता भई अदालतले पक्राउ आदेश जारी गरेको थियो । सोही आदेशका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार मण्डल लामो समयदेखि फरार रहँदै आएको र हाल पक्राउ परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।
सूचना अधिकारी पुरीले प्रहरी फरार अभियुक्तहरूको खोजतलासलाई थप सक्रिय बनाइरहेको बताउँदै भने, ‘फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी निरन्तर सक्रिय छ । मण्डललाई पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको छ ।’
प्रहरीले हाल पनि विभिन्न अदालतबाट जारी पक्राउ आदेश भएका अन्य फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।

