रौतहट, १४ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न आपराधिक मुद्दामा लामो समयदेखि फरार रहेका चार जनालाई फरार सूचीबाट हटाउँदै पक्राउ गरेको छ । पक्राउ परेकामध्ये जग्गा किर्ते, ठगी, आपराधिक विश्वासघात र लागुऔषध मुद्दामा संलग्न रहेका प्रतिवादीहरू रहेका छन् ।

प्रहरीका अनुसार कटहरिया नगरपालिका–१ का ४२ वर्षीय रामपुकार महतो कोइरीलाई पक्राउ गरिएको छ । उनले कटहरियास्थित २४ वटा कित्तामा पर्ने ९ बिगाहा १८ कठ्ठा १५ धुर जग्गा सम्बन्धी मुद्दामा अदालतको फैसला र पत्र किर्ते गरी गैरकानुनी रूपमा आफ्नो नाममा दाखिला गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिए ।

त्यस्तै, ठगी र आपराधिक विश्वासघातको मुद्दामा गौर नगरपालिका–८ का ४७ वर्षीय सुरेन्द्र साह पनि पक्राउ परेका छन् । साहले श्री धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरमा एजेन्टको रूपमा काम गर्दै गाउँका सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई एक वर्षे र सात–आठ महिने खाताहरू खोल्न लगाएर रकम संकलन गर्दै आएका थिए । पछि सो सहकारी संस्था बन्द गरी साहसहितका संचालकहरू फरार भएपछि पीडितहरूले उजुरी दर्ता गराएका थिए । प्रहरीले उनलाई सोही प्रकरणमा पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

यसैगरी, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा पनिलाल दासलाई पनि प्रहरीले पक्राउ गरेको छ । दास चन्द्रपुर नगरपालिका–६ ठोकर टोलका स्थायी बासिन्दा हुन् ।

साथै, आन्दोलनकै क्रममा कारागार कार्यालय गौरबाट फरार लागुऔषध मुद्दाका कैदीबन्दी उमेश राना मगरलाई पनि पक्राउ गरी पुनः कारागार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ । राना मगर चन्द्रपुर नगरपालिका–१ का बासिन्दा हुन् ।

सूचना अधिकारी कंडेलका अनुसार पक्राउ परेका सबै फरार प्रतिवादीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीले हाल फरार सूचीमा रहेका अन्य अभियुक्तहरूको पनि खोजी अभियान जारी रहेको जनाएको छ ।