जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उद्योग वाणिज्य संघले आफ्ना अध्यक्षमाथि भएको प्रहरी दमनको विरोध गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

संघका महासचिव फुलदेव पण्डितद्वारा शुक्रबार जारी गरिएको विज्ञप्ती अनुसार प्रहरीको मनोमानी र घटनाको निष्पक्ष छानबिन नहुँदा संघ बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो ।

विज्ञप्तीमा उल्लेख भए अनुसार गत असोज ३१ गते जनकपुरधामको सुनचाँदी बजार क्षेत्रमा भएको घटनामा संघका अध्यक्ष सुरेन्द्र कुमार भण्डारीमाथि प्रहरी नायव उपरीक्षक गणेशबहादुर बम र घुमुवा प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको नेतृत्वमा दमन गरिएको बताइएको छ । उक्त घटनामा भण्डारीलाई लाठी र बुटले समेत प्रहार गरी टाउको फुटाउनेसम्मको हिंसात्मक व्यवहार गरिएको संघले जनाएको छ ।

संघका महासचिव पण्डितका अनुसार उक्त घटनाको सम्बन्धमा संघले कार्तिक १ गते प्रमुख जिल्ला अधिकारी र मधेश प्रदेश प्रहरी नायव महानिरीक्षकलाई ज्ञापनपत्र बुझाउँदै दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेको थियो । ज्ञापनपत्रमा चार बुँदे मागसमेत प्रस्तुत गरिएको भए पनि अहिलेसम्म कुनै कार्यान्वयन नभएको संघको आरोप छ ।

तर, उल्टै जिल्ला प्रहरी कार्यालय धनुषाले कार्तिक २ गते जारी गरेको प्रेस विज्ञप्तीमार्फत सम्पूर्ण दोष संघका अध्यक्ष र व्यवसायीमाथि थोपारेको भन्दै संघले आपत्ति जनाएको छ । संघका अनुसार छानबिन गर्नुको सट्टा प्रहरीले पीडितमाथि नै आरोप लगाएर व्यापारी वर्गलाई आतंकित बनाउने प्रयास गरेको छ ।

संघले अबका दिनमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । संघका महासचिव पण्डितले विज्ञप्तीमार्फत भनेका छन्, ‘माग सम्बोधनको सट्टा प्रहरी प्रशासनले उद्योगी–व्यवसायीमाथि आरोप थोपार्दै आतंक सिर्जना गरेकोले अब हामी शान्तिपूर्ण तर दृढ आन्दोलनमा उत्रनेछौं ।’

संघले घोषित गरेको कार्यक्रमअनुसार कार्तिक १५ गतेदेखि व्यवसायीहरूले आफ्ना पसल र कार्यालयमा कालोपट्टी बाँध्ने, कार्तिक १६ र १७ गतेसम्म सबै व्यापारीले आफ्ना पसलहरूमा कालो झण्डा र पटी अनिवार्य रूपमा राखी व्यवसाय सञ्चालन गर्ने, कार्तिक १८ गते दिउँसो १२ बजेसम्म सम्पूर्ण पसल बन्द गरिनेछ ।

सोही दिन बिहान ९ बजे उद्योगी व्यवसायीहरू जनकपुरधाम उद्योग वाणिज्य संघको कार्यालयमा भेला भई नगर परिक्रमा गरी जनकचोकमा कोणसभा र पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ ।

संघले आन्दोलनबाट उत्पन्न हुन सक्ने कुनै पनि प्रकारको क्षतिप्रति जिम्मेवार प्रहरी प्रशासन नै हुने चेतावनीसमेत दिएको छ । संघले घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कडा कारबाही नहुन्जेल आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।