मधेश प्रदेशका ८ उत्कृष्ट किसान सम्मानित

जनकपुरधाम, १४ कार्तिक । मधेश प्रदेशका सबै जिल्लाका आठजना उत्कृष्ट किसानलाई प्रदेश सरकारले नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय धनुषाद्वारा आयोजित कार्यक्रममा किसानहरूलाई सम्मान गरिएको हो ।
विश्व खाद्य दिवसका अवसरमा ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारा सहित आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाका कृषकहरूलाई उनीहरूको योगदान र उब्जनीमा उल्लेखनीय उपलब्धिका आधारमा सम्मान प्रदान गरियो ।
समारोहमा सम्मानित किसानहरूमा बाराको जितपुरसिमरा–१८ का मकै किसान विनिता गौतम, पर्साको विन्दवासिनी–४ का च्याउ किसान सुजित कुमार चौरसिया, सर्लाहीको वागमती नगरपालिका–११ का मौरी किसान मणि प्रसाद पाण्डे, धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महत्तो, रौतहटका कटहरिया नगरपालिका–५ का धान किसान रामसिंह राय यादव, सिरहा नगरपालिका–२ का खाद्यान्न बीउ उत्पादक किसान बलराम यादव, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर र सप्तरी अग्नीसाइर कृष्णासवरण–२ का किसान महाविर प्रसाद चौधरी रहेका छन् ।
सो किसानहरूलाई मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले नगद २५ हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सचिव दाहालले कार्यक्रममा मधेश प्रदेशलाई मात्र अन्नको भण्डार नभएर खाध्यान्नको प्रमुख केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘मधेशको उब्जनी वृद्धि आजको आवश्यकता हो । यदि हामीले स्थानीय उत्पादनलाई बढाएर मात्रै देशभरका नागरिकलाई पर्याप्त खाध्यान्न उपलब्ध गराउन सक्छौं भने समृद्धि दिगो हुनेछ । यसका लागि सरकार र किसान मिलेर काम गर्नु आवश्यक छ ।’
कार्यक्रम निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख डा. सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाका प्रमुख रविलला शर्मा लगायतले खाद्य सुरक्षा र उत्पादन प्रवद्र्धनसम्बन्धी जानकारी प्रस्तुत गरे ।
साथै, आठै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख तथा विभिन्न कृषिसँग सम्बन्धित कार्यालयका प्रमुखहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । निर्देशनालयका अधिकृत सुदिप चौधरीले कार्यपत्र प्रस्तुत गरे भने वरिष्ठ बाली विकास अधिकृत प्रदीप कुमार यादवले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन इन्जिनियर सुमन कुमार साहले गरेका थिए ।

