मेयर साहद्वारा ॐ आरसीएस विद्यालयको निरीक्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले हालै ॐ आर.सी.एस. विद्यालयमा भएको चोरी घटनाको जानकारी लिन शुक्रबार विद्यालय परिसरको स्थलगत निरीक्षण गरेका छन् ।
विद्यालय प्रशासनसँग छलफल गर्दै मेयर साहले शिक्षालयजस्तो पवित्र स्थानमा हुने यस्ता आपराधिक घटनाले शिक्षण वातावरणमा भय र असुरक्षा सिर्जना गर्ने बताउँदै घटनाको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।
जनकपुरधाम–१ स्थित ॐ आर.सी.एस. विद्यालयमा कार्तिक १२ गते राति अज्ञात समूहले कार्यालयको सटर तोडेर नगद रकम र विभिन्न महत्वपूर्ण कागजात चोरी गरेको थियो । उक्त घटनापछि विद्यालय समुदाय र स्थानीय अभिभावकबीच आक्रोश देखिएको छ ।
मेयर साहले निरीक्षणका क्रममा विद्यालयका शिक्षक–शिक्षिका र व्यवस्थापनसँग भेटघाट गर्दै भने, ‘विद्यालय पवित्र शिक्षालय हो । प्रशासनले यसलाई गम्भीरताका साथ लिई छानबिनमा कुनै ढिलाइ गर्नु हुँदैन ।’ उनले उपमहानगरपालिकाको तर्फबाट विद्यालयहरूमा सुरक्षा सुदृढीकरणका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए ।
सोही घटनाप्रति राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) धनुषा जिल्ला कार्यसमितिले पनि गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

एनप्याब्सनका सचिव डी.के. चौधरीले जारी गरेको विज्ञप्तिमा शिक्षालयजस्तो पवित्र स्थलमा हुने चोरी घटनालाई दुःखद र निन्दनीय भन्दै यसले सम्पूर्ण शिक्षण समुदायको मनोबल कमजोर पार्ने उल्लेख गरिएको छ ।
चौधरीले भने, ‘शिक्षक–शिक्षिकाले समर्पणका साथ शिक्षण कार्य गरिरहँदा विद्यालयभित्रै यस्ता आपराधिक गतिविधि हुनु समाजकै लागि कलङ्क हो । यसमा संलग्नलाई कानूनी दायरामा ल्याउन सके मात्रै शिक्षक र विद्यार्थीमा विश्वास पुनःस्थापना हुन्छ ।’
एनप्याब्सन धनुषाले विद्यालयहरूमा सुरक्षासम्बन्धी उपायहरू कडाइका साथ लागू गर्न स्थानीय प्रशासन र प्रहरी निकायलाई आग्रह गरेको छ । साथै, विद्यालय परिसरमा रात्रीकालीन गस्ती र निगरानी प्रणाली थप सशक्त बनाउन पनि सुझाव दिएको छ ।
मेयर साहले जनकपुरधाम उपमहानगरभित्रका सबै विद्यालयहरूको सुरक्षा अवस्था पुनरावलोकन गर्न उपमहानगरले सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने जानकारी दिए । उनले भने, ‘हामीले शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको अपराध सहन गर्ने छैनौं । दोषी जो भए पनि कारबाही हुन्छ ।’
प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको र दोषी पहिचानका लागि आवश्यक तथ्य प्रमाण संकलन भइरहेको जनाएको छ ।

