जनताको अदालतबाट भाग्नेहरू असल नेतृत्व हुन सक्दैनन् : प्रभु साह

विराटनगर, १ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारलाई चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत भएको आरोप लगाएका छन् ।
शनिबार विराटनगरमा आयोजित कोशी प्रदेशको विस्तारित बैठकमा बोल्दै अध्यक्ष साहले भने, ‘हालको सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखाएको छ । निर्णायक संघर्षमा होमिन न्याय प्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई अपिल गर्दछु ।’
साहले वर्तमान सरकारलाई फागुन २१ गते प्रतिनिधिसभा चुनाव गराउन बनाइएको भए पनि अहिले सरकारले जथाभावी हस्तक्षेप गर्न थालेको आरोप लगाए । उनले राजदूतहरूको अचानक फिर्ती बोलाइँ, खासगरी भारतका लागि नेपाली राजदूतको फिर्ती प्रक्रियामा अनावश्यक हस्तक्षेप गरिएकोमा आक्रोश पोखे ।
उनले थपे, ‘इलेक्सनको म्यान्डेट लिएर बनेको सरकारले आफ्ना आसेपासे र भरौटेहरूलाई फेरि राजदूत बनाउन सक्रियता देखाएको छ । प्रधानमन्त्रीले चुनावमा ध्यान दिनुपर्छ, राजदूत चयनमा होइन ।’
पूर्वमन्त्री साहले एमाले नेतृत्वको निर्णय र केपी ओलीको असंवैधानिक प्रयासप्रति पनि कटाक्ष गर्दै चेतावनी दिए । उनले भने, ‘ओलीले आफ्नो अपराध ढाकछोप गर्न सिङ्गो पार्टीलाई दाउमा लगाएका छन् । जनताको अदालतबाट भाग्न डराउनेहरू असल राजनीतिक नेतृत्व हुन सक्दैनन् ।’
साहले प्रधानमन्त्री कार्कीमाथि दलसँग दूरी कायम गर्ने, अनावश्यक मिडियाबाजी र शीतल निवासमा तमासा मञ्चन गर्ने आरोप समेत लगाए । उनले भने, ‘चुनावी तयारी र दलसँगको संवाद बालुवाटारमा गर्नुहोस्, शीतल निवास देखाएर दूरी कायम गर्ने काम नगर्नुहोस् । अब जनताले चुनाव चाहिसकेका छन् ।’
अध्यक्ष साहले देशलाई शक्ति राष्ट्रहरूको खेल मैदान बनाउने प्रवृत्तिविरुद्ध चेतावनी दिँदै सबै दलका राम्रा र सच्चा क्रान्तिकारीबीच सहकार्य र मोर्चाबन्दी आवश्यक रहेको बताए । उनले भने, ‘देश अहिले सङ्कटको भुमरीमा फसेको छ । कांग्रेस, एमालेमा रहेका राम्रा नेताहरू गलत नेतृत्वको पछि नजाओस्, विवेक प्रयोग गरी देशको सार्वभौमसत्ता र स्वाधीनता बचाउन योगदान पुर्याओस् ।’
साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि चुनावको म्यान्डेटमा ध्यान दिन सुझाएका छन् । अवरोध सिर्जना नगरी वास्तविक भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

