सप्तरी, १८ असोज । सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तीव्र गतिका कारण भएको अनुमान गरिएको उक्त दुर्घटनाले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खडक नगरपालिका–१० बेलहा निवासी २८ वर्षीय चिन्तामणि चौधरीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई घटनास्थलबाट उद्धार गरी तत्कालै छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो ।

त्यसैगरी, अर्को मोटरसाइकलका चालक सुरुङ्गा नगरपालिका–७ निवासी २७ वर्षीय सोविन चौधरीको पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले बताए ।

दुवै जनाको शव शनिबार बिहान पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ । घटनापछि सो क्षेत्रमा केहीबेर सवारी आवागमन समेत रोकिएको थियो ।

दुर्घटनामा सोविन चौधरीकी श्रीमती २५ वर्षीया रमिता चौधरी र सोविनकै साथी सन्तोष चौधरीकी ८ वर्षीया छोरी रचना चौधरी घाइते भएकी छन् । रमिताको पेट र दुवै खुट्टामा चोट लागेको छ भने बालिका रचनाको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचार राजविराजस्थित निजी अस्पतालमा भइरहेको छ ।

स्थानीय बासिन्दाले हुलाकी राजमार्गमा अत्यधिक गति र लापरबाहीका कारण दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक प्रहरीको नियमित निगरानी र स्पीड कन्ट्रोल उपकरण (स्पिड गन) प्रयोगको माग गरेका छन् ।

स्थानीय रामलखन यादवका अनुसार, ‘यो खण्डमा राति बत्तीको अभाव छ । सडक चौडा र सीधा भएको कारण मोटरसाइकल चालकहरू तीव्र गतिमा चलाउँछन् । यसले प्रायः यस्तै दुर्घटना निम्त्याउँछ ।’

डीएसपी पुरीका अनुसार दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । ‘दुवै मोटरसाइकल एकआपसमा ठोक्किनुको कारण प्राथमिक रुपमा तीव्र गति र ध्यान नदिइ हिँड्नु रहेको देखिन्छ,’ उनले भने ।

सडक दुर्घटनाका घटनाहरू पछिल्ला केही वर्षयता सप्तरीमा तीव्र गतिमा बढ्दै गएका छन् । विशेष गरी हुलाकी राजमार्गका खण्डहरूमा रातको समयमा पर्याप्त ट्राफिक निगरानी नहुँदा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीका अधिकारीहरू बताउँछन् ।

पछिल्लो घटनापछि प्रहरीले सडक प्रयोगकर्ताहरूलाई गति नियन्त्रण गर्न, हेडलाइट अनिवार्य रूपमा प्रयोग गर्न र हेलमेट तथा सुरक्षात्मक उपकरण नछोड्न आग्रह गरेको छ ।