बारा, १५ असोज । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान भएको भीषण दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जनकपुरधामबाट काठमाडौंतर्फ गइरहेको यात्रुवाहक बसको ब्रेक फेल भएपछि पछाडिबाट आइरहेका दुई मोटरसाइकललाई किच्दा दुर्घटना भएको हो ।

ना ५ ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा–पथलैया सडकखण्डको उकालोमा पुगेपछि अचानक ब्रेक फेल भएको थियो । नियन्त्रण गुमाएको बस ब्याक हुँदा पछाडिबाट आउँदै गरेका दुई मोटरसाइकल सीधै बसमुनि किचिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार दुर्घटनामा पर्सा वीरगंज महानगरपालिका–३१ की २६ वर्षीया कवितादेवी र बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेलको मृत्यु भएको हो । उपचारका लागि कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा दुवैको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कलिता देवी, उनकी २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकल चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई तत्काल मकवानपुरस्थित सहकारी अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।

बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमै बस र मोटरसाइकल दुवै क्षतिग्रस्त अवस्थामा रहेका छन् । साथै, बस पछाडि रहेको मप्र ०३–००१ ज ०६६२ नम्बरको इभी माइक्रो गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक विवरणअनुसार बसको ब्रेक फेल प्रमुख कारण देखिएको भए पनि प्राविधिक परीक्षणपछि मात्र आधिकारिक निष्कर्ष निकालिने प्रहरीले जनाएको छ ।