जनकपुरमा सडक दुर्घटनाः पीडित पक्षले प्रहरीमाथि उठाए प्रश्न


जनकपुरधाम, १३ असोज । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चौकमा भएको सडक दुर्घटनामा किसानपुर–७ निवासी ६५ वर्षीय जयनन्दन सहनी गम्भीर घाइते भएका छन् ।
सहनीको उपचार हाल काव्या अस्पतालमा भइरहेको छ । दुर्घटनामा उनको दाहिने खुट्टाको हाड भाँचिएको अस्पतालले जनाएको छ ।
दुर्घटना तीन दिनअघि भए पनि पीडित पक्षले आवश्यक कारबाहीमा ढिलाइ भएको आरोप लगाएका छन् ।
सहनीलाई महोत्तरीको औरही बस्ने रोशन साहले चलाएको ज. १२ प. ६२०१ नम्बरको मोटरसाइकलले साइकलमा गइरहेको बेला ठक्कर दिएको थियो । उक्त मोटरसाइकल नियन्त्रणमा लिएर बलुवा प्रहरी चौकीमा राखिएको छ ।
तर, ठक्कर दिने चालक साह भने हालसम्म फरार रहेका छन् । पीडित परिवारले बलवा प्रहरी चौकीकै आन्तरिक मिलेमतोमा चालक भाग्न सफल भएको गुनासो गरेका छन् ।
पीडित पक्षका अनुसार दुर्घटनापछि तत्काल नियन्त्रणमा लिन सकिने अवस्थामा रहेको चालकलाई प्रहरी चौकीका इन्चार्जकै सेटिङमा भगाइएको हो । उनीहरूले दोषीलाई पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
चिकित्सकहरूले सहनीको अवस्था स्थिर रहेको तर खुट्टामा भएको चोट निको हुन लामो समय लाग्ने बताएका छन् ।
पीडितका आफन्तले दोषी चालकलाई तत्काल पक्राउ गर्न र प्रहरी प्रशासनले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रहरीकै मिलेमतोमा आरोपीलाई उम्काइए कारबाहीको विश्वसनीयता माथि प्रश्न उठ्ने चेतावनीसमेत दिएका छन् ।
सडक दुर्घटनाबाट जनकपुरधाममा निरन्तरजन्य जोखिम बढिरहेको बेला दोषीलाई उम्काउन गरिएको यस्तो व्यवहारले प्रहरी प्रशासनमाथिको विश्वास कमजोर बनाउने देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
