रौतहट, १८ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका–४ धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार बिहान भएको सडक दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करिब ४ः३० बजे पोखराबाट हरिवनतर्फ आउँदै गरेको गण्डकी प्रदेश नम्बर प्लेट भएको बा ८०४ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट गइरहेको प्र १–०२–००१ ख ९४१० नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । ठक्करबाट स्कार्पियो र ट्रकका चालकसहित सात जना सवार घाइते भएका थिए ।

दुर्घटनामा स्कार्पियो चालक, कास्की पोखरा–११ का ४९ वर्षीय विष्णुप्रसाद पौडेल, सोही स्थानका दामोदर अधिकारीकी ५६ वर्षीया श्रीमती मीरा अधिकारी, पार्वती गुरुङ र ट्रक चालक बारा जितपुर–२ का ३२ वर्षीय शिव आले मगर घाइते भएका छन् ।

तीमध्ये स्कार्पियोमा सवार पोखरा–११ का रोहन टण्डुकारकी ५४ वर्षीया श्रीमती सोनु माया पाइजााको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । त्यस्तै, ३४ वर्षीया भगवती गुरुङको टाउकोमा गहिरो चोट लागेको र ५७ वर्षीया वृद्धिमाया पुनको टाउकोमा समेत चोट लागेकाले तिनै जनालाई परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा रिफर गरिएको हो ।

अन्य सामान्य घाइतेलाई चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । स्कार्पियोमा सवार ६५ वर्षीय दामोदर अधिकारी र ट्रकका सहचालक, धादिङ नीलकण्ठ नगरपालिका–२ का २९ वर्षीय राजन थापा भने सकुशल रहेका छन् ।

ठक्करका कारण महेन्द्र राजमार्ग केही समय अवरुद्ध भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले तत्काल उद्धार गरी सडक सुचारु गरेको थियो ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकिन्द्र अधिकारीले जानकारी दिए ।