सर्लाही, २ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ फरिद टोलमा सोमबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय केशरगञ्जका अनुसार ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको माउन्ट कञ्चनजङ्घा बोर्डिङ स्कुलको ना.५ ख.७३७३ नम्बरको बस विद्यार्थी बोकेर विद्यालयतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट तल धान खेतमा पल्टिएको थियो ।

दुर्घटनामा चालक ३२ वर्षीय रामकरण महतोसहित विद्यार्थीहरू सात वर्षीया सृष्टी साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीय सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो घाइते भएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयवासी र प्रहरीले तत्कालै उद्धार गरी घाइतेहरूलाई लालबन्दीस्थित मोडेल अस्पतालमा उपचारका लागि पठाइएको हो । ‘सबैको अवस्था सामान्य छ, अहिले उपचार भइरहेको छ,’ प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानअनुसार बस उच्च गतिमा भएको कारण नियन्त्रण गुमाएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।