महोत्तरी, १३ साउन । महोत्तरी जिल्लामा पहिलोपटक निःशुल्क मानसिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

पिपरा गाउँपालिका–१ स्थित एकरहियामा सम्पन्न यस शिविरमा सयभन्दा बढी मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूले विशेषज्ञ उपचार सेवा लिएका छन् ।

नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय एकरहियाको प्राङ्गणमा मंगलवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको यो शिविरमा प्रादेशिक अस्पताल जनकपुरधामका मानसिक रोग विभाग प्रमुख डा. रोबिन झाको नेतृत्वमा विशेषज्ञ टोलीले सेवा प्रदान गरेको हो ।

शिविरको आयोजना शान्ति न्युरो साइक्याट्री क्लिनिक, जनकपुरधामले गरेको थियो । शिविरको संयोजन स्थानीय गजेन्द्र कुमार झाले गरेका थिए । शिविरमा मानसिक रोगका बिरामीहरूको परीक्षणसहित निःशुल्क औषधि वितरण गरिएको थियो ।

डा. झाका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या देशभर तीव्र गतिमा बढ्दो छ । उनले भने, ‘अत्यन्त महँगो हुने औषधिहरु पनि यो शिविरमा निःशुल्क प्रदान गरिएका छन् ।’ उनले मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न यस्ता शिविरलाई मधेश प्रदेशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक कमलेश कुमार झाले पनि शिविरको महत्त्वलाई स्वीकार गर्दै यसले मानसिक रोगबारे जनचेतनामा वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यस शिविरबाट एकरहियासहित आसपासका समुदायका धेरै परिवार लाभान्वित भएका छन् ।’

शिविरमा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले यसरी गाउँमै सेवा उपलब्ध गराएकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए ।