विकासको विरोध किन?


जनकपुरधाम, ११ वैशाख । मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम आज विकास र बेवास्ताबीचको दोधारमा छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक गहना भएकै कारण यो शहरले देशका कोटिकोटि नेपालीको श्रद्धा जितेको छ । तर, आजपनि धुलो, फोहोर, मच्छर, स्वास्थ्यको अभाव र शिक्षा प्रणालीको अस्तव्यस्तताले जनकपुरलाई घेरिरहेको छ । यस्तो अवस्थामा ‘विकास’ को नाममा अघि बढ्न लागेको कुनै संरचनालाई विरोध गर्नु, त्यो पनि राजनीतिक पूर्वाग्रहका आधारमा — के जनताको हितमा हो?
यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता अखिल मढि भन्छन्, ‘स्मृति भवनजस्तो जनउपयोगी संरचनाको विरोध गर्नु भनेको जनताको चेतनालाई अपमान गर्नु हो । विकासका नाममा जनकपुरलाई लामो समयसम्म बेवास्ता गरिँदै आएको छ । अब जब जनकपुरधाममा केही देखिने, काम लाग्ने संरचना बन्न थालेका छन्, त्यसमाथि विरोधको राजनीति गर्नु अत्यन्त दुःखद छ ।’
गंगासागरको छेउमा बन्न लागेको राम नारायण मिश्र स्मृति भवन जनताको सेवा केन्द्रका रूपमा निर्माणाधीन छ । तर, केही समूह र व्यक्तिहरूले यसलाई ‘अनावश्यक खर्च’ भन्दै विरोध गरिरहेका छन् । युवा नेता मढिको जिज्ञासा छ, ‘जनताकै लागि बनिरहेको संरचना तपाईंलाई किन चिउँडोमा लागेको हो? जब सडक हिलो थियो, जब अस्पतालमा औषधि थिएन, जब विद्यालय जीर्ण थिए – तब तपाईंको आवाज किन आउँदैनथ्यो?’
उनले भने, ‘विकासको विरोध गर्नु आफैंमा गलत होइन । तर, विरोध तब गर्नुपर्छ जब त्यसमा अपारदर्शिता, अनियमितता वा जनविरोधी उद्देश्य होस् । यहाँ त संरचना जनताकै सेवा र पहिचानका लागि बनिरहेको छ ।’
मढिले अहिले भइरहेको विरोधलाई केही व्यक्तिहरूको ‘राजनीतिक असफलताको ढाकछोप’ भनेर व्याख्या गर्छन् । ‘जब तपाईं आफैंले जनकपुरमा केही योगदान दिन सक्नु भएन, तब अरूले केहि गरिरहेका छन् भनेर डर लाग्नु स्वाभाविक हो । तर, अब जनकपुरबासी यति सजग भइसकेका छन् कि नाराले होइन, कामले मूल्याङ्कन गर्छन्,’ उनी भन्छन् ।
उनले स्मृति भवनमाथिको विरोधलाई विकासको अभियानलाई रोक्ने षड्यन्त्रको रूपमा हेरेका छन् । उनका अनुसार स्मृति भवनले न केवल सेवा प्रवाह सहज बनाउनेछ, बरु जनकपुरको ऐतिहासिक गाथालाई पनि संरक्षण र प्रवर्धन गर्नेछ ।
अखिल मढिले स्मृति भवनलाई ‘जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने विकास’ को रूपमा चित्रण गर्छन् । ‘यो त तिम्रो भ्यूटावरे विकास होइन – देखिने, काम लाग्ने र भविष्यमा जनकपुरको अनुहार बदल्न सक्ने परियोजना हो,’ उनी भन्छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
