झापाको दमकमा स्थानीय र प्रहरीबीच झडप, ८ जना पक्राउ

झापा, २० माघ । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय समूह र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो ।
स्थानीयले केवलकार निर्माणको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन नियन्त्रण गर्न प्रहरीको टोली परिचालित भएको थियो । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन् ।
प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो । झडपमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रदर्शनकारीले पाथीभरा क्षेत्रमा प्रस्तावित केवलकार निर्माण रोक्नुपर्ने माग गरेका छन् । केवलकार निर्माणले स्थानीय वातावरण र सांस्कृतिक सम्पदामा नकारात्मक असर पार्न सक्ने उनीहरूको आरोप छ ।
केवलकार निर्माणलाई लिएर स्थानिय र सरकारी निकायबीच केही समयदेखि विवाद हुँदै आएको छ । स्थानियले यस निर्माणले धार्मिक तथा पर्यावरणीय सन्तुलन खल्बल्याउने भन्दै विरोध जारी राखेका छन् । सरकारी पक्षले भने परियोजना विकासले पर्यटन र आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ ।
प्रदर्शनका क्रममा केही स्थानीयले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति अझै बिग्रिएको थियो । झापाको प्रहरी प्रशासनले प्रदर्शनकारीहरूलाई संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरे पनि अहिले स्थिति तनावग्रस्त रहेको बताइएको छ ।
उक्त क्षेत्रमा अहिले कडा सुरक्षा व्यवस्था गरिएको छ । सम्भावित थप झडप रोक्न प्रहरीको बाक्लो उपस्थिति देखिएको छ ।


