जनकपुरधाम, २२ भदौ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ ।

योसँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले प्रतिष्ठानमा एमबिबिएसको अध्ययन अध्यापन शीघ्रातिशिघ्र आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्याक्रममा समेत प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन हुने कार्यक्रम समाविष्ट गरेका थिए । उनले यस कार्यलाई उच्च प्राथमिकतामा राखेर स्रोत सुनिश्चितता, थप पूर्वाधारसम्बन्धी निर्णय र निरन्तर चासोका साथ कामहरू अगाडि बढाए ।

सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीहरूलाई भेटेर आवश्यक पूर्वाधारलगायतका अन्य मापदण्ड पुरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरे ।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । जसमा मधेश प्रदेशका बहुसँख्यक विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ ।

प्रतिष्ठानमा एमबिबिएसको अध्ययन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।

चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने थलोको रूपमा विकसित हुँदा जनकपुरधाम लगायत वरपरका क्षेत्रमा आर्थिक गतिविधिमा समेत तीव्रता आउने निश्चित छ ।