जनकपुरधाम, २० भदौ । नेपाल विद्यार्थी संघले राजर्षि जनक विश्वविद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघका स्ववियू सभापति पदका प्रत्याशि त्रिलोक कुमार यादवको नेतृत्वमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाइएको हो ।

विश्वविद्यालयद्वारा बाँडिएको बिएएलएलबिको सम्बन्धन खारेज गर्न माग गर्दै उपकुलपतिलाई ६ दिनभित्र समस्या समाधान गर्न अनुरोध गरिएको छ । सो समयभित्र सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

विश्वविद्यालयद्वारा यही भदौ १३ गते जारी गरिएको सम्बन्धनको विषयमा विश्वविद्यालयको गतिविधि आपत्तिजनक रहेको नेविसंघको ठहर छ ।

नेविसंघले प्रयाप्त अनुसन्धान र अध्ययनबिना सम्बन्धन बाँडिएको र स्थापनाको एकदशक पनि नपुगेको विश्वविद्यालयले अफ्नो केन्द्रीय क्याम्पस अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई समयानुकूल वृत्तिविकास गर्दै जानुपर्नेमा आवश्यकता भन्दा बढी सम्बन्धन बाँडिएको विषय खेदजनक रहेको जनाएको छ ।

साथै विश्वविद्यालयले अनुगमन गर्ने कुरा, परीक्षा नियमित नहुने कुरा यसको सबैभन्दा ठूलो चुनौतीको विषय बन्ने भएकोले नियमित कक्षा सञ्चालन नहुने, परिक्षाफलमा ढिलाई तथा अनुगमनको तौरतरिका नमिल्दा थप समस्याले विद्यार्थीहरू आन्दोलित हुने निश्चित रहेको नेविसंघले ज्ञापनपत्रमार्फत जनाएको छ ।